बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कुलामनको कार्यकाल सकिदै आज अन्तिम दिन
समाचार

कुलामनको कार्यकाल सकिदै आज अन्तिम दिन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिन लागेको हो ।  दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका घिसिङलाई देशमा लोडसेडिङ अन्त्य गरेको जस जान्छ ।

कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै घिसिङले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसलगत्तै देशका प्रमुख शहर, सबै क्षेत्रका घरायसी ग्राहक हुँदै २०७५ बैशाख ३१ गते घरायसी र औद्योगिक ग्राहक सबैलाई लोडसेडिङमुक्त गराएका थिए ।

यो अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र वार्षिक ८ अर्ब रुपैंया घाटा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको बलियो अवस्थामा पुर्याउने जस समेत उनैले पाएका छन् ।

बिदाइको तयारी छैन

घिसिङको कार्यकाल सकिए पनि हालसम्म उनको बिदाईका लागि कुनै पनि तयारी गरिएको छैन । हालसम्म बिदाईको लागि कुनै तयारी नभएको घिसिङका प्रेस संयोजक सचिन गौतमले बताए । अर्को एक कार्यकाल प्राधिकरणमै बिताउन चाहेका उनलाई पुनर्नियुक्ति गर्नुपर्ने माग उठे पनि अन्तिम दिनसम्म उनको नियुक्ति भएको छैन ।

प्रधानमन्त्री केपी शर्माओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच घिसिङलाई फेरि दोहोर्याउने सहमति भएअनुसार उर्जा मन्त्रालयले उनलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव तयार पारिसकेको जनाएको छ । प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए उनको अर्को कार्यकालको बाटो खुल्नेछ ।

पुनर्नियुक्तिको हल्ला बाहिर आएसँगै प्राधिकरणले उनको बिदाइको औपचापरिक कार्यक्रम नगरेको प्राधिकरण स्रोतले जनाएको छ । यद्यपि महिनौंदेखि कुलमान दोहोरिनुपर्ने माग गर्दै आएकाहरु अन्तिम दिनसम्म पनि उनको पुनर्नियुक्तिबारे अन्यौलमै छन् ।

फेसबुक प्रतिक्रियाहरु