शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विश्व आत्महत्या रोकथाम दिवस : समस्यालाई बाँड्न सके तनाव कम गर्न सकिने
समाचार

विश्व आत्महत्या रोकथाम दिवस : समस्यालाई बाँड्न सके तनाव कम गर्न सकिने

भदौ २५,
काठमाण्डाै  । आज विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको चैत्र १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर आत्महत्या हुने गरेको र त्यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनो-सामाजिक समस्या र आत्महत्याको दर बढेको छ । लकडाउन, निषेधाज्ञा तथा घरभित्रै बस्नुपरेका कारण गरिखाने वर्गमा बढी असर देखिएको छ ।

समस्यालाई बाँड्न सके तनाव कम हुने विज्ञले बताएका छन् । साथै मनमा कुरा नखेलाउन, सकारात्मक कुराहरु सोच्न र नियमित व्यायाम गर्न विज्ञको सुझाव छ । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको समेत पाइएको छ ।

त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनो-चिकित्सकसँग परामर्श गराए ज्यान जोगाउन सकिने मनो-चिकित्सक डाक्टर सरोजप्रसाद ओझाले बताए । उनले कोभिड-१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाएर त्यसलाई कम गर्नुपर्नेमा जोड दिए । कोरोनाका बेलामा भिटामिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गर्न पनि उहाँको सुझाव छ । file Photo

फेसबुक प्रतिक्रियाहरु