शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थमन्त्री युवराज खतिवडाले राजीनामा
समाचार

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा

भदौ १९,

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा राजीनामा घोषणा गरेका उनले सिंहदरबारमा बिदाइ भेटघाट गरेपछि बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेपछि खतिवडाले राजीनामा दिएका हुन्।

संवैधानिक प्रावधान अनुसार उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि राजीनामा दिएका हुन्। फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त खतिवडाले ओलीलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्। बालुवाटारमा भएको मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्रालयमा भएको बिदाइ भेटका क्रममा खतिवडाले आफ्नो कार्यकाल सफल भएको बताए।

उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए। अर्थमा उनले संघीयता कार्यान्वयनका लागि आफूले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। खतिवडाले संघीयता कार्यान्वयनका क्रममा वित्तीय व्यवस्थापन अति चुनौतीपूर्ण रहेको अवस्थामा त्यसलाई आफूले कुशलतापूर्वक सम्हालेको उल्लेख गरेका थिए।

अढाई वर्ष अर्थमन्त्रालय सम्हालेर बाहिरिने क्रममा खतिवडाले सरकारको वित्तीय प्रणाली सुधार तथा भ्याट फिर्ता खारेजीको निर्णयमा आफूले सफलतापूर्वक भूमिका खेलेको बताएका थिए।

अर्थमा भएको बिदाइका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, मन्त्रालयका अर्थ सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसहित सहभागी थिए। मन्त्री खतिवडाले सञ्‍चार मन्त्रालय पनि सम्हालिरहेका थिए।

गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन काण्डमा मुछिएपछि सञ्‍चार पनि सम्हालेका उनले त्यहाँ पनि बिदाइ भेट गरे। file Photo

फेसबुक प्रतिक्रियाहरु