शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरोनाका कारण थप पाँच जनाको मृत्यु,
समाचार

कोरोनाका कारण थप पाँच जनाको मृत्यु,

चितवनमा तीन र वीरगञ्ज तथा धरानमा एक एक जनाको निधन

भदौ १६,

काठमाडौं । कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवनमा तीन र वीरगञ्ज र धरानमा एक एक जनाको मृत्यु भएको हो । चितवनमा हिजो मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेहरुमा कोरोना संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्युु भएको जानकारी दिए । योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना छन् ।

यता वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए । टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो ।

त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । साउनयता मात्रै ४८ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये पर्साका ३८ जना, बाराका १० जना र रौतहटका ४ जना छन् । त्यसैगरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको मिर्चैया–६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए  । उनलाई गत भदौ १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका समेत रोगी रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु