शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एसिड छ्याप्नेलाई दिइने सजाय बढाउन विज्ञकाे सुझाव
समाचार

एसिड छ्याप्नेलाई दिइने सजाय बढाउन विज्ञकाे सुझाव

साउन १९,

काठमाण्डाै । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताए ।

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटनामध्ये आठ वटा बदलाको भावनाले घटेको बताए । प्रेम सम्बन्धमा खटपट आएका कारण पाँच र अनुहार कुरुप बनाउने हिसाबले दुई वटा एसिड आक्रमणका घटना घटेको पाइएको उहाँले बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थको सहज उपलब्धता नहुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए । सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरु बढी घट्ने गरेको उनले बताए । सरकारले एसिड बिक्री वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने उनले बताए ।

एसिड जस्ता रासायनिक पदार्थ आयात गर्ने उद्योग प्रतिष्ठानसम्बन्धी ऐन कानुन भए पनि बिक्री वितरणका लागि कुनै कानुन छैन । नेपालमा सबैभन्दा बढी ब्याट्री तथा इन्भर्टरमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ । इलेक्ट्रोनिक तथा सोलार इन्भर्टर उपलब्ध हुने ठाउँमा यो सुलभ रुपमा पाइन्छ ।

सरकारले एसिडको बिक्री वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानुनी कारबाही व्यवस्था गरे एसिड आक्रमणका घटनामा केही कमी आउन सक्छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा आठ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु