शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, २७८ संक्रमित थपिए
समाचार

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, २७८ संक्रमित थपिए

२३ जेठ,

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ भने दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।

सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण देखाएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।

दैलेखमा ९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ९१ जना दैलेखका छन् । थपिएका संक्रमितमध्ये ६४ जना महाबु गाउँपालिका र २७ जनामा दुल्लु नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना र जाजरकोटको भेरी नगरपालिका–१० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा दुई संक्रमित थपिएका छन् । पञ्चपुरी गाउँपालिका–१ का १८ वर्षीय र सिम्टाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू सबै यशोधराका हुन् । संक्रमित हुनेमा ८ महिने बालक समेत छन् । रुपन्देही, सैनामैनाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक ४८ महिला हुन् भने ११ जना १८ देखि ५० वर्षका पुरुष हुन् ।

नवलपरासीका २१ र ३२ वर्षीय पुरुष, अर्घाखाँची सितागंगाका ३६ वर्षीय पुरुष र पाल्पाका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

ह्याम्सका दुई बिरामीमा संक्रमण

काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत दुई बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी चन्द्रकोटका ७६ वर्षीय पुरुष र कास्कीका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, रामेछापमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू १७ देखि ४९ वर्षका छन् । यस्तै, काभ्रेमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये तीन जना रोशी गाउँपालिकाका हुन् भने पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक जना छन् ।

सिन्धुलीको तीनपाटन र कमलामाईका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीका २१ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १२ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १० जना कचनकवल गाउँपालिकाका १० देखि २८ वर्षका पुरुष हुन् भने गौरादहका २० वर्षीय र गौरीगञ्जका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, मोरङ रतुवामाईका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू १५ देखि ३० वर्षका छन् । भोजपुरमा पाँच जना संक्रमित थपिएका छन् । षडानन्द गाउँपालिकाका उनीहरू १७ देखि ३२ वर्षका छन् ।

महोत्तरी जलेश्वरमा १७ जना संक्रमित भेटिएका छन् । उनीहरू १४ देखि ४५ वर्षका छन् ।

रौतहटको गुजरा क्वारेन्टिनमा रहेका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । धनुषा देवपुराका ४ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू २० र २१ वर्षका छन् । बारा बारागढी गाउँपालिकाका २६ र २७ वर्षीय पुरुष र विश्रामपुरका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तनहुँ रिसिङका ३९ र ४० वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा गन्यापधुराका ५ जना, कैलालीको धनगढीका ४ जना, अछाम साँफेबगरका २९ वर्षीय र बझाङ देउलेखका २६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु