मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काठमाडौँ जोरपाटीका व्यापारीहरु लकडाउन तोडेर उत्रिए सडकमा
समाचार

काठमाडौँ जोरपाटीका व्यापारीहरु लकडाउन तोडेर उत्रिए सडकमा

जुनेली न्युज,  काठमाडौं :    लकडलाउन भएको ७१ औं दिन आज अति भएपछि जोरपाटीका व्यापारीहरुले जबरजस्ती पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ। मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेपछि प्रहरी पुगेको थियो।

 

प्रहरीले उनीहरुले खोलेको पसल बन्द गर्न दवाव दियो। त्यसपछि व्यापारीहरु त्यसको विरुद्धमा उत्रिए। स्थानीय पुरुषोत्तम घिमिरेले दिएको जानकारी अनुसार पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै उनीहरुले प्रश्न गरेका थिए। उनका अनुसार करिब ६० व्यवासायीहरु आन्दोलित मुडमा उत्रिएका थिए।

 

७१ दिन लगातार लकडाउन लम्ब्याउने बाहेक सरकारले कुनै योजना अगाडि सार्न सकेको छैन। आजैमात्र पनि सरकारले कर चुक्ता गर्न सूचना जारी गरेको छ। व्यवसायीहरु पनि सरकारको लकडाउन गर्ने र व्यवसायीलाई कुनै पनि राहतका कार्यक्रम नल्याउने रणनीतिबाट आजित भएका छन्। आजै चितवनमा पनि व्यापारीहरुले सरकारको कदमविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका थिए।

पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

कार्कीले भने, ‘लकडाउन उल्लंघन गरेकाले नियन्त्रणमा लिएका थियौं, अहिले छाडिसकेका छौं ।’

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे लगायतसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका थिए । छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वसन दिएको छ ।

नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताए । ‘हामीले पनि यसमा केही गर्न सक्ने अवस्था छैन, केन्द्रबाटै नयाँ निर्णयको पर्खाइमा छौं’, उनले भने ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । र, यो अवधिसम्म आइपुग्दा लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै खुकुलो पार्न जनस्तरबाट माग हुँदै आएको छ ।

एजेन्सी 

फेसबुक प्रतिक्रियाहरु