मङ्लबार, अशोज ११, २०७९
  • होमपेज
  • धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्याल भन्छिन् “एक मजदुर म” !
राजनीति

धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्याल भन्छिन् “एक मजदुर म” !

-“एक मजदुर म”
रित्तो सडकमा रनभुल्ल पर्छु,
बन्द छन् सवारी, बन्द छ ब्यापार,
बन्दै छ मजदुरी, मात्र खुला छ खानेमुख।
लकडाउन छ रे देशैभरी!
कहाँ चुहाउँ म पसिना?
भोकले रित्तो थाल ठटाउदै गरेका,
लालाबालालाई कसरी पुर्याउ म चारो?
कसैले देख्यौ मेरो मन पोखिएको?
सपनाहरु अरठ्ठिएका छन्,
बासी रोटीझैं टोक्नै नसक्नेगरी।
भुँडी भासिएको बेला,
रोगको कुरा त गन्तीमै आउदैनन्,
शरणार्थी बनेको छु म आफ्नै देश भित्र।
बन्द छन् सबैका दैलाहरु!
ए मनका ढोकामा गजबार लाउनेहरु हो!
मिल्किएका केही भए हुर्याईदेउ बाटातिर,
आँत भरिनेछन् मेरा बचेराका पनि।
भाईरस आएको छ रे!
ए राष्ट्रका भाईरसहरु हो,
यि शोषित मस्तिष्क माथि,
कति रजाई गर्छौ हँ?
जीवनको एक-एक हिस्सा रित्याउदै,
यही माटोमा नङ्ग्रा खियाउने हामी मजदुर,
जसरीपनी मर्ने त हामीनै हौं, होइन र?
तिमीहरूले त खाईनखाई बुझाएका,
हाम्रा पैसामा होली खेलेकै छौ क्यारे।
हामीलाई भोकले दपेटिएर मर्न नदेउ सरकार,
खोलिदेउ ति बन्द गजबारहरु,
बरु,
रोगले मर्यो भन्दा-
तिम्रा इतिहासहरू चोखिनेछन्।
भ्रष्टाचारको भूमरी भित्र,
आफ्ना जिम्मेवारी रुमल्लिन नदेउ हेर!
जोगाउ हामीलाई जिउँदो शालिक बन्नबाट।
नत्र,
आशाको किरण बिलाउनेछ,
एउटा विवश छानामुनीको साँझ निभ्नेछ,
अक्षम्य अपराध लाग्नेछ तिमीलाई।
पोष्टमार्टम गरिए देख्नेछौ यो देहभित्र,
विवशताका आला घाउहरु,
इमानदारिताका डोबहरु,
अनि राज्यले दिएका गहिरा चोटहरु।
लेखक – रेखा अर्याल।

 

फेसबुक प्रतिक्रियाहरु