जुनेली न्यून, साहित्य ।
उसले एसईई पास गरेछ !
सबै विषयमा ए प्लस ल्याएछ !
खुसी लाग्यो परिणाम सुनेर
क्याबात् भनें
मनमन गुनेर !
सोधें – ‘बाबू’ भनेर
हँ, भन्छ !
सुन त भन्छु – केरे हँ भन्छ ।
एसईईको फुलफर्म सोधें
हँ ? केरे -केरे भन्छ ।
दोहोर्याएँ :
थाहा छैन भन्छ ।
‘अङ्ग्रेजी सर को हो ?’ सोधें –
त्यसको नाम ? त्यसको नाम !
‘त्यो ‘खुइले ‘ को नाम ‘था’ छैन’ भन्छ
अरु गुरुहरुको पनि नाम थाह छैन । उपनाम सबैको कण्ठ छ –
कागे म्याथ, नागे साइन्स
सुगाठुँडे नेपाली, पितल भुँडे सामाजिक … … आदिआदि ।
अनि सोधें –
तिम्रो पुख्यौंंली कहाँ हो ?
तिम्रो गोत्र के हो ?
हँ के रे ? था’ छैन ।
सोचें –
पक्का था’ छैन …
सरले रटाएको भए थाहा हुन्थ्यो,
रटाएको भन्दा अरु कुरा त तिमीलाई के थाहा छ र ?
परीक्षामुखी शिक्षा थाहा छ ।
खालि नम्बरको चाह छ !
आउट अफ सेलेबस त तिमीलाई ..
तिमीलाई त –
कम्प्युटर, मोवाइल, फेसबुक, च्याट थाहा छ !
ब्लक, रिक्योस्ट, अनफ्रेन्ड, ह्याक सबै थाहा छ ।
फिल्म ‘रियालिटी सो ….
गेम, पब्जी, फ्रि-फाएर, पोर्न थाहा छ ….
डाटा प्याक ब्यालेन्स आदि आदि
कण्ठ छ !
पूरा याद छ !!
तिमीलाई थाहा छैन …
सम्बोधन
अभिवादन
मान-इज्जत
प्रतिष्ठा-संस्कार
संस्कृति रीतिरिवाज
थाहै छैन –
हजुर
सहयोग
सद्भाव
माया
स्नेह
सेवा
सुवचन
सु-संस्कृति
स्वधर्म
स्वभाषा
स्वभेष केही थाहा छैन ।
जिम्मेवारी
वफादारी
इमानदारी
केही थाहा छैन ।
खाली बोके दारी थाहा छ !
बस् ! त्यतिमात्र ।
बाआमाको दुःख था’ छैन
बाआमाको व्यथा था’ छैन
आमा – बाको पीडा दर्द था’ छैन ।
भान्साको काम शून्य
खेतको काम शून्य
गोठको काम शून्य
तरकारी बारीको काम शून्य !
आफ्ना लुगा, जुत्ता, टाई, बेल्ट मिलाउन मात्र हैन ओछ्यान आँगन केही थाहा छैन !
केबल अङ्क थाहा छ !
डिभिजन थाहा छ ।
प्रतिशत थाहा छ !
छोरा… न गोबरको भइसक्यो कि अभिभावकलाई पनि खाली
नम्बरको चाह छ !
डिभिजनको चाह छ !
प्रतिशतको चाह छ !
…बेथिति …
बस् यतिमात्र थाहा छ ।
– गोपाल काफ्ले, सिन्धुली
फेसबुक प्रतिक्रियाहरु