बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या,
दुर्घटना/अपराध

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या,

मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ ।

जुनेली न्यूज, काठमाण्डौ | प्रदेश नम्बर १ को संखुवासभा जिल्लामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । तर तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ |

नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ रे,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

डिएसपी सुवेदीले गएराति हत्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताए । ‘राति नै हत्या भएको हुनसक्छ । बिहान भएको भए होहल्ला हुन्थ्यो, गाउँलेले थाहा पाउँथे होला,’ उनले भने, ‘हामी घटनाको अनुसन्धान गर्दैछौं ।’ अहिलेसम्म कोही पनि पक्राउ नपरेको उनले बताए ।

घटनास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्दछ । इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडाको टोली घटनास्थल प्रस्थान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु