शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट सुरु हुदै
Breaking News

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट सुरु हुदै

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाइन्छ |

जुनेली न्यूज, काठमाडौं भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन प्रत्येक बर्ष मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट सुरु हुदै छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।

फेसबुक प्रतिक्रियाहरु