शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • “उज्यालो र सफा शहर बनाउन स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौं,”-कुलमान घिसिङ
Breaking News

“उज्यालो र सफा शहर बनाउन स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौं,”-कुलमान घिसिङ

जुनेली न्यूज, काठमाण्डौ | प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरु, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ ।

विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

प्राधिकरणले स्थानीय तहहरुसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थानहरु र सडकलाई राति उज्यालो बनाउन स्मार्ट वत्ति जाडान गर्न अभियान नै चलाउने छ । ललितपुर महानगरपालिकाको सकृय सहभागितामा पहिलो चरणको स्मार्ट सडक वत्ति जडान भइसकेको छ । डडेलधुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भैसकेको छ ।

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक वत्ति जडान भैरहेको छ ।

काठमाडौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक वत्ति जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ । उज्यालो सहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर- भक्तपुर र कोटेश्वर-कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका वत्तिलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताए ।

हाल देशभरबाट थप मागहरु आइरहेको र करिव २० वटा नगरपालिकाबाट प्राप्त मागलाईर् कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुर लगाएतका नगरपालिकाहरु रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरुसँग प्रस्ताव माग गरेको छ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकहरुमा बढी उज्यालो दिने ठूलो बत्ती (लाइटिङ मास्ट) राखिने छ ।

‘उज्यालो नहुदा हाम्रा ऐतिहासिक धरोहरहरु र पर्यटकीय स्थलहरु राति अँध्यारो नै रहने गरेका छन् भने सडक पनि अँध्यारोनै हुन्छ, त्यसैले त्यस्ता ठाउँहरुमा स्थानीय तहहरुको साझेदारीमा स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौं,’घिसिङले भने,’यसबाट एकातर्फ यातायात व्यवस्थापन,शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने छ भने अर्कोतर्फ सहरी सौन्दर्यमा वृद्धि हुने छ ।’
‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरु जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौं, विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, सहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकहरुको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ’, घिसिङले भने, ‘हाल भइरहेको जमिन माथिको -ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरहरुमा विस्तार गर्दैछौं ।’

फेसबुक प्रतिक्रियाहरु