जुनेली न्यूज, काठमाण्डौ | ‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशु धनको सुरक्षाका लागि गाई, भैँसी, बाख्रा, बङ्गुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।| महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको हो ।
गतवर्ष माछापुच्छ्रे र रुपा गाउँपालिकामा पुषमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिएकामा यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णमा पूर्ण खोप कार्यक्रम सञ्चालनको कार्यक्रम अघि बढाइएको भेटेरेनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा.शोभा शर्माले बताइन् ।
“महामारीजन्य र जुनोटिक (मानव र पशुपक्षीबीच एकआपसमा सर्ने) रोग नियन्त्रण गरी रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा गर्न पशुमा खोप लगाउनु महत्वपूर्ण छ”, प्रमुख डा.शर्माले भनिन्, ‘सबैको सहयोगबाट कास्कीलाई नै पशुमा पूर्ण पशु खोप युक्त जिल्ला बनाउने योजनामा छौँ ।’
खोप अभियान सञ्चालनका लागि सुरुआतमा पशु तथ्याङ्क सङ्कलन, खोपको महत्वका बारेमा प्रचारप्रसार, खोप खरिद तथा भण्डार र खोप कर्ता छनोट गरी अभिमुखीकरणपछि खोप कार्यक्रम सुरु हुनेछ । यसैगरी खोप लगाउँदा गाई, भैँसी र बङ्गुरलाई कृषकका सम्बन्धित गोठ र फार्ममा नै पुगेर लगाइने तथा भेडा, बाख्रा र कुकुरका लागि निश्चित स्थान तोकिने कार्ययोजना छ ।
फेसबुक प्रतिक्रियाहरु