शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • अफगानिस्तानमा संकटमा परेका नेपालीबारे अध्ययन गर्न सरकारले बनायो संयन्त्र
Breaking News

अफगानिस्तानमा संकटमा परेका नेपालीबारे अध्ययन गर्न सरकारले बनायो संयन्त्र

जुनेली न्यूज, काठमाडौँ ।। अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले बताएको छ । तर औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताए |

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार भएको छलफलमा परराष्ट्र सचिव भरत पौडेलले अहिलेसम्म अफगानिस्तानमा १४ सय जना नेपाली रहेको जानकारीमात्र सरकारसँग भएको र त्यहाँ अरू नेपाली रहे/नरहेको बारे बुझ्ने प्रयास भइरहेकोर सूचना जारी गरेको बताएका छन् |
सचिव पौडेलले अफगानिस्तानमा १४ हजार नेपाली सञ्चारमाध्यममा कार्यरत रहेको भन्ने विवरण आएको बारे नेपाल सरकारलाई जानकारी नभएको बताए ।औपचारिक रुपमा गएका १४०० नेपालीहरू राजधानी काबुलमै रहेको र सबै सुरक्षित अवस्थामा रहेको पनि दाबी गरे ।

आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र सचिव पौडेलले जानकारी दिए ।

औपचारिक रुपमा रहेका अधिकांश नेपालीहरु त्यहाँका अन्तराष्ट्रिय नियोग र संस्थाहरुमा कार्यरत रहेको पनि सचिव पौडेलले बताएका छन् | औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको उद्धारका लागि भने नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि कुराकानी भइरहेको पौडेलले बताए ।

फेसबुक प्रतिक्रियाहरु