मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस देउवापक्षीय जिल्ला सभापतिहरूको बैठक ललितपुरमा जारी
Breaking News

नेपाली कांग्रेस देउवापक्षीय जिल्ला सभापतिहरूको बैठक ललितपुरमा जारी

जुनेली न्यूज, काठमाडौं ।नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशन गर्ने कार्यतालिका फेरि परिवर्तन हुने निश्चित देखिएपछि सत्तारूढ संस्थापन पक्षका जिल्ला सभापतिहरू छलफलमा जुटेका छन्। महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेका हुन् ।

निर्धारित कार्यतालिका (भदौ १६–१९) मा महाधिवेशन सम्पन्न गर्ने तयारी नगरेको आरोप लगाउँदै कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाविरुद्ध काठमाडौंमा भेला गरेपछि उनीहरूले त्यसविरुद्ध ‘काउन्टर’ भेला गर्न लागेका हुन्।
बैठकमा सहभागी भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएको भन्दै त्यसलाई चिर्न आफूहरु छलफलमा जुटेको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरूले समयमा महाधिवेशन नहुनुमा सभापति देउवालाई मात्रै दोष लागएपछि आफूहरू त्यसको प्रतिवादस्वरूप छलफलमा जुटेको कांग्रेसका एक जना जिल्ला सभापतिले जानकारी दिए।

‘रामचन्द्र दाइनजिक भनिएका साथीहरूले भेला गरेर महाधिवेशन नहुनुमा शेरबहादुर दाइलाई मात्रै दोषी भएजस्तो गर्नुभयो,’ उनले भने, ‘तर, महाधिवेशन नहुनुमा रामचन्द्र दाइ पनि उत्तिकै दोषी हुनुहुन्छ। उहाँले सात जिल्लाका क्रियाशील सदस्यता र पार्टी समायोजनमा बखेडा झिक्नुभएको छ। त्यो प्रमाणित गर्न हामी छलफलमा जुटेका हौं।’सभापति देउवाको ‘डिफेन्स’ गर्नु नै आफूहरूको मुख्य उद्देश्य भएको उनको भनाइ छ।

यसअघि गत सोमबार र मंगलबार पौडेल समूहका सभापतिहरू ठमेलको एक होटलमा भेला भएका थिए। उनीहरूले पौडेल समूहका सबै शीर्ष नेताहरूलाई बोलाएर भेलाको समापन गरेका थिए |
संस्थापन समूह निकट जिल्ला सभापतिहरुले आजै पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत केन्द्रीय सदस्यहरुलाई भेटेर महाधिवेशन हुन नदिने खालका र विधानविपरीतका भेला गर्ने काम रोक्न अनुरोध गर्ने तयारी गरेका छन् ।

वरिष्ठ नेता पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले महाधिवेशन गर्न नेतृत्वले नचाहेको र पार्टी वैधानिकता संकटमा पारेको आरोप लगाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु