जुनेली न्यूज, काठमाडौं । कोरोनाका कारण प्रतिकूल स्थिति रहेको उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाइन्ट भेन्चर’को ध्यानाकर्षण गराएका छन् ।
सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवनको शुक्रबार अवलोकन गर्दै उनले आयोजना पदाधिकारीहरुलाई निर्माण छिटो सक्न आग्रह गरेका हुन् ।
सभामुख सापकोटाले भने ‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस् । किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन सञ्चालन गरिरहेका छौं । हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं,’ | समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति अझ बढाउनुपर्ने उनले बताए | निर्माणका क्रममा आयोजनालाई कुनै समस्या भए आफूले प्रधानमन्त्रीसँग पनि समन्वय गरेर समाधान गरिदिने बताएका छन् ।
२० महिना अघि निर्माण शुरु गरिएको आयोजनाको लागत करीब ५ अर्ब ६७ करोड ६१ हजार रुपैयाँ अनुमान गरिएको छ । साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माण कार्य सोचेअनुसार अघि बढ्न नसकेको आयोजनाको भनाइ छ ।
कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाइ आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठले बताए ।
संघीय संसद भवन १७३ रोपनी ८ आना क्षेत्रफलमा बन्दैछ । आठवटा ब्लक रहने संघीय संसद भवन परिसरभित्र चार सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृह लगायत रहनेछन् ।
फेसबुक प्रतिक्रियाहरु