भदौ २०,
काठमाण्डौ । यो वर्ष वैशाखदेखि अहिलेसम्म बाढी र पहिरोका कारण दुई सय ७७ जनाको ज्यान गएको छ । पहिरोका कारण दुई सय ४५ र बाढीका कारण ३२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पहिरोमा परेका ५१ जना र बाढीका कारण ४३ जना गरी ९४ जना बेपत्ता रहेका छन् । त्यस्तै गएको पाँच महिनामा पहिरोमा परि एक सय ९१ जना घाइते भएका छन् भने बाढीका कारण ११ जना घाइते भएको प्राधिकरणको तथ्याङ्क छ ।
यो वर्षको मनसुन सुरु भएदेखि बिहीबारसम्म मात्रै दुई सय ४३ जनाले पहिरोमा ज्यान गुमाएका हुन् । त्यस्तै बाढीमा परेर २९ जनाको ज्यान गएको छ ।
बाग्लुङमा यो वर्षको मनसुन सुरु भएयता अहिलेसम्मकै सबैभन्दा धेरै क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका ७, ८ र ९ को तटीय बस्तीमा भलसहितको पहिरो पसेको र कुन ठाउँमा बस्ती थियो भनेर यकिनसमेत गर्न नसक्ने गरी बगाएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
बाग्लुङ्गको ढोरपाटनमा गएको बाढी/पहिरोमा परि अहिलेसम्म १३ जनाले ज्यान गुमाएका छन् । २५ जना हराइरहेका छन् । यसअघि साउन ३० गते सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जनाले ज्यान गुमाएका छन् । अझै तीन जना बेपत्ता छन् ।
यो वर्ष नदी तटीय क्षेत्रमा भेल पहिरो तथा बाढीले बढी क्षति पुर्याएको र नदी तटीय क्षेत्रको जोखिम आँकलनमा कमजोरी भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए । file Photo
फेसबुक प्रतिक्रियाहरु