शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अनुगमन पश्चात दूर्गा ट्रेडर्सका केराउ, चामल र भटमास बिक्रीमा रोक: उपप्रमुख खड्गी
समाचार

अनुगमन पश्चात दूर्गा ट्रेडर्सका केराउ, चामल र भटमास बिक्रीमा रोक: उपप्रमुख खड्गी

भदौ १४ 

काठमाडौं । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ । काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो । उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो ।

ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एविसि खाद्य स्टोरमा पठाउन लागेको थियो । खाद्य सामाग्रीमा हुनु पर्ने पर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान गोदाममा फिर्ता गराइएको थियो ।

ट्रेडर्ससँगै आज कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरियो । त्यस क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो । त्यस क्षेत्रका अधिकांश पसल बन्द अवस्थामा थिए । सम्पर्क गरेर आउने ग्राहकका लागि खोलिएका पसल आधा खोलिएका थिए । अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो ।

अनुगमनपछि प्रतिक्रिया दिँदै उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो — खाद्य गुणस्तरमा ध्यान पु¥याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्छ । हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन । बिषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ । उहाँले थप्दैभन्नुभयो — सबैले गलत गरेका छन् भन्ने होइन, जटिल अवस्थामा जोखिम मोलेरै भए पनि सामाग्री ढुवानी गरेकाकारण सहरी जीवन सरल भएको छ । तर, बिषम परिस्थितिको फाइदा उठाउनेबाट भने बच्नै पर्छ । यसका लागि हामी अनुगमनलाई नियमित गर्छौं ।

आज त्रुटी पाइएको ट्रेडर्सलाई कारवाहीको प्रक्रिया अघि बढाउँछौं । कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्नुहुन्छ — लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका छन् । यी सबैलाई कारवाहीको दायरामा ल्याउँछौ. ।

सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम् मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधब तिमिल्सेना भन्नुहुन्छ — उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या छ । बिल नै जारी नगरी खरिद बिक्री गर्दा व्यापारमा बिकृतिम मौलायो । थोक पसलपछि कालीमाटी चोकमा रहेका खाद्य पसलको अनुगमन गरिसकेपछि दुवैतिरको मूल्य तुलना गर्दै तिमिल्सेनाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सामानको तौल र लेबलका बिषयमा ध्यान दिन नसक्नु, व्यवसाय दर्ता र नविकरणमा ध्यान नदिनु, मूल्य सूची नराख्नु, खरिद बिक्री जारी नगर्नु कालीमाटी चोकमा रहेका खाद्यपसलहरुको साझा कमजोरी देखियो । म्याद सकिएका सामाग्री के गर्नुहुन्छ? प्रश्नको स्पष्ट उत्तर दिन नसक्नु व्यापारीहरुको अर्को कमजोरी हो ।

महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमन गरिरहेको छ । यस अघि कालीमाटी र बल्खु तरकारी बजार हेरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु