शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रुकुम घटनाको संसदीय विशेष समितिले बुझायो प्रतिवेदन, के निकाल्यो निष्कर्ष ? (निष्कर्षसहित)
शिक्षा

रुकुम घटनाको संसदीय विशेष समितिले बुझायो प्रतिवेदन, के निकाल्यो निष्कर्ष ? (निष्कर्षसहित)

जुनेली न्युज | गत  जेठ १० गते भएको घटनाको छानबिन गठित संसदीय विशेष समितिले रुकुम चौरजहारी सोती घटना घट्नुपूर्व, घटना घटेको समय र घटनापश्चात अपनाउनुपर्ने अपराध अनुसन्धानको विधि प्रक्रियामा अपर्याप्तता एवं त्रुटि देखिएकोले घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

६ जनाको मृत्यु र १२ जना घाइते भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गत जेठ १० गते भएको घटनाको छानबिन गठित संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा सो घटना गम्भीर मानवता विरुद्धको अपराध एवं सामूहिक हत्यासँग सम्बन्धित भएकोले राज्यको तर्फबाट विशेष अध्ययन, अनुसन्धान र निगरानी गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

घटनाबाट प्रभावित मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य,रोजगारी, सुरक्षा एवं भरणपोषणको पूर्ण प्रत्याभुति गरिनुपर्ने सझावसहितको प्रतिवदन बुझाएको छ ।

संसदीय विशेष समितिले १ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनमा घाईते युवाहरू यस घटना र मुद्दाका विशेष साँक्षी भएको हुनाले उनीहरूको स्वास्थ्य उपचार, सुरक्षा तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।

यस्तो छ समितिको निष्कर्ष

1. घटनाको विश्लेषणः
चौरजहारी नगरपालिका-8, सोतीमा भएको घटनाको सम्बन्धमा अध्ययन, अनुगमन तथा छानविन गर्न “चौरजहारी नगरपालिका, सोती घटना छानविन विशेष संसदीय समिति” गठन भएको थियो । समितिले आफ्नो कार्ययोजना बनाई उक्त घटनाको समग्र पक्षको अध्ययन, अनुगमन तथा विश्लेशण गर्न जाजरकोट, चौरजहारी नगरपालिका र रुकुम पश्चिममा रहेका, पीडित परिवार, घटनासँग सम्बन्धित संघर्ष समिति, राजनीतिक दल, नागरिक समाज, घटनाको उद्धारमा संलग्न स्थानीय बासिन्दा, प्रहरी प्रशासन एवं सुरक्षाकर्मी, पत्रकार, उक्त घटनाका प्रत्यक्षदर्शी घाईते व्यक्तिहरू, प्रतिवादीहरू लगायत सरोकारवाला निकायसँग छलफल, भेटघाट, अन्तरक्रिया गर्ने कार्य सम्पन्न गरेको छ ।

जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं. 4 राना गाउँका बर्ष 21 को नवराज वि.क. र जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. 8, सोतीकीवर्ष 17 को सुष्मा मल्लबीच गहिरो प्रेम सम्बन्ध भई एक आपसको घरमा आउने जानेर सँगै बस्ने समेत गर्दै आएको पाईन्छ । दलित समुदायको केटासँग कथित माथिल्लो जातको केटीको प्रेम सम्बन्ध भएको कुरा केटीतर्फका अभिभावकले समेत थाहा पाए । छोरीले दलित केटासँग प्रेम सम्बन्ध राखी विवाह गरेमा आफ्नो परिवार तथा आफन्तले सामाजिक बेईज्जत हुने भनी उनीहरूको प्रेम सम्बन्धलाई छुटाउने पटक पटक प्रयास गरेका छन् । त्यसकारणले पनि यस घटनाको मुख्य कारण जातीय विभेदबाट नै शुरु भएको पाईन्छ ।

केटी अध्ययनका लागि चौरजहारी डेरा लिएर बसेको पाइन्छ । 2075 सालको त्रिभुवन उच्च माध्यमिक विद्यालय, जाजरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको बेलामा मृतक नवराज वि.क. एक राम्रो खेलाडी समेत भएको कारणले केटी केटाप्रति आकर्षित भई चिनजान भएको पाईन्छ। तत्पश्चात् उनीहरूको बीचमा भेटघाट गर्ने, टेलिफोन नम्बर साटासाट गर्ने, कुराकानी गर्ने, फेसबुकमा साथिसाथि बनी सम्वादगर्ने, एक अर्काका घर परिवार र आफन्तहरूलाई चिनाउने, नाता लगाई बोल्ने र जाजरकोटको सदरमुकाम खलङ्गामा लागेको रमाइलो मेला हेर्न केटी जाजरकोट गएको बेला केटी 4 दिन सम्म केटाको घरमा गएर सँगै बसेको, एक आपसको जन्मदिनमा भेट्ने र शुभकामना आदान प्रदान गर्ने गरेको पाइन्छ । यसै क्रममा केटी पटक पटक गरी 7 दिनसम्म केटाको घरमा गएर बसेको बुझिन्छ ।

यसै क्रममा केटा पक्षको बुवा आमाले हामी दलित जाति र तिमीहरू मल्ल ठकुरी भएकोले पछि समस्या पर्न सक्ने र केटीको उमेर समेत नपुगेकोले उमेर पुगेपछि सोचौला भन्दा केटीले कुनैपनि जात माथि विश्वास नगर्ने जातीय विभेद तथा छुवाछुतको अन्त्य भैसकेको बताएका थिए। त्यसपछि उनीहरू दुवैको प्रेम सम्बन्ध झन् प्रगाढ हुदै गएको पाईन्छ । यसै क्रममा नवराज वि.क. पटक पटक केटीको घर जाने गरेको र मिति 2076चैत्र 17 गते नवराज वि.क. सहित 3 जनाले केटीलाई भेट्न भनी जाँदा परिवार र त्यहाँका वडाध्यक्ष डम्बर बहादुर मल्लले निजहरूलाई नियन्त्रणमा लिई चौरजहारी प्रहरीलाई जिम्मा लगाई एक रात प्रहरी चौकीमा समेत राखेको र भोलिपल्ट प्रहरीले नवराजलाई सम्झाई बुझाई गरी आमालाई जिम्मा लगाई पठाएको पाईन्छ ।

यसै क्रममा उक्त घटना पछि 2077 जेठ 0८ गते साँझ नवराज वि.क. लाई केटीले फोन गरी मेरो अन्यत्रै विवाह हुन लागेको हुँदा 10/12 जना युवाहरू लिएर लिन आउनु भनेको केटा पक्षको भनाई रहेको। तर उक्त कुरा पछि प्रहरीद्वारा कल डिटेल लगायतका विषयबाट नखुलेको हुँदा केटीले उक्त कुरा भनेको र लिन भनी बोलाएको हो होईन भन्ने कुरा यकिन खुलेको पाईएन। त्यसैगरी केटीले केटा पक्षलाई यदी उक्त कुरा भनी केटीले बोलाएको विषय साँचो नै भएता पनि केटीले स्वयं आफैले बोलाएको हो ? वा परिवार तथा आफन्तको दवावमा बोलाएको हो ? भन्ने विषय समेत यकिन हुन सकेन । यसै क्रममा केटीले बोलाएको भनी नवराजले आफ्ना नजिकका साथीहरू 19 जना जम्मा पारी वेहुली लिन वा भेट्न भनी केटीको घरबाट करिव 50 मिटर तल सडकमा 18 जना पुगेको तरगोपाल बुढाथोकी नामका 1 जना भने धल्ला पुल नपुग्दै बीच बाटोबाटै फर्किएको बुझिन्छ ।

नवराज वि.क. सहितको समूहलाई घरमुनीको बाटोमा देखेपछि सुष्माकी आमाले “ए डुम त फेरी आइस्, अझै पुगेन”भन्दै गाली गलौच गरी यिनीहरूलाई मार्नु सिध्याउनु पर्छ गाउँलेहरू सबैलाई खबर गर्नु भनी बडाध्यक्ष डम्बर बहादुर मल्ललाई फोन गर्दै गर्दा नवराज वि.क. सहितका युवाहरू असुरक्षित महशुस गरी कुनै प्रतिवाद नगरीत्यहाँबाट सरासर हिडेको पाईयो । केटीका परिवार र आफन्तले उनीहरूको प्रेम सम्बन्धलाई कहिले पनि नस्वीकारेको । घटना भएको दिन नवराज सहित 18 जनाकोसमूह केटीको घर नजिकैको बाटोमाआएको देखेपछि केटीको आमा प्रकाशी मल्लले असहज तथा अस्वभाविक महशुस गरी वडाध्यक्ष मार्फत गाउँलेलाई खबर गरेको पाइन्छ। त्यसको करिव 45 मिनेट पछि युवाहरू मध्यपहाडी लोकमार्गको आसपास पुग्ने बेलामा सबै गाउँलेहरूलेचारैतिरबाट घेरा हाली घरेलु हतियार, आँसी, टाट्नो बनाउने काठ, लाठी, ढुङ्गा समेत प्रयोग गरीआक्रमण तथा कुटपीट गरी 6 जनाको ज्यान जाने र 12 जना गम्भीर घाईते हुने गरी निर्मम सामूहिक हत्या जस्तो अमानवीय,जघन्य अपराधिक घटना घटेको पाईयो ।

कर्णाली प्रदेश रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.8 को सोतीस्थित मध्यपहाडी लोकमार्गको आसपासमा २०७७जेठ१० अन्दाजी बेलुकी अन्दाजी ५:30 बजेको समयमा घटित घटनामा ६ जना होनहार युवाहरूको मुत्यु भएको र बाँकी १२ जना युवाहरू गम्भीर घाईते भएको घटनाले देश र सम्पूर्ण जनसमुदायलाई स्तब्ध तुल्याएको छ। सिङ्गोमानव समाज र सभ्यतालाई यसले गम्भीर आघात पु‐याएको छ । यस्तो जघन्य त्रासदीपूर्ण घटना दोहरिन नदिन राज्यका सबैसंयन्त्रहरू संवेदनशील, प्रभावकारी र जवाफदेहीबन्नुपर्ने समितिको बुझाई रहेको छ ।

घटना घटेका दिन २०७७ साल जेष्ठ १० गतेघटनालाई राज्यका संयन्त्र एवं स्थानीय जनप्रतिनिधिले सामान्य रुपमा लिएको देखिन्छ । सरोकारवाला निकायले घटना पछि तत्कालै घटनाको प्रकृतिर गम्भीरतालाई विशेष रुपमा बुझी तद्अनुरुप प्रभावकारी रुपमा आवश्यक कदम चालेको पाईएन । घटना उज्यालो अर्थात् घाम छदै मानिसहरूको चहलपहल हुने लोकमार्ग नजिक भएको, घटनास्थलमा सुरक्षाकर्मी पुग्दा आक्रमणकारीले लोकमार्गमा, भेरीको बीच भङ्गालोमा र भेरी पारी जाजरकोट पट्टीको बगरमा कुटपीटगरिरहेको र सुरक्षाकर्मीले आक्रमणकारीहरूलाई छोडी घाइतेहरूलाई मात्रै नियन्त्रणमा लिनु, जाजरकोट पट्टीका सुरक्षाकर्मीले आफ्नै जिल्लाका आफ्नै जिल्लामा भेटिएका युवाहरूलाई नियन्त्रणमा लिई अर्को जिल्लालाई बुझाउनु, नियन्त्रणमा रहेका घाइते युवाहरूले आफूसँगै आएका साथीहरूत्यहाँ नभएको कुरा सुरक्षाकर्मीलाई भन्दा भन्दै पनि तत्काल घटनास्थलमा कुनै खोजी कार्य नगर्नु, घटना भएकै दिन बेलुका 19:15 बजे करिव 1 घण्टा पछि नै नवराज वि.क. कोलाश फेला परे पछि पनि तत्कालै घटनास्थल नियन्त्रणमा नलिनु, अपराध घटेको घटनास्थल शील नगर्नु रघटनामा संलग्न आक्रमणकारी र शंकास्पद अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य नगर्नु नहुनु गम्भीर त्रुटी देखिन्छ ।

सोती घटना अन्तरजातीय प्रेम गरेको भनिएका केटा र केटीको उमेर 21 वर्ष र 17 वर्ष रहेको पाईन्छ। उक्त दिन नवराज बि.क. सँग बेहुली लिन वा काफल खान भनी सँगै गएकासबै युवाहरू 21 वर्ष भन्दा कम उमेरको भएको देखिन्छ। घटनामा मृत्यु भएका सञ्जिाव बि.क.को 20 वर्षको श्रीमती र अन्दाजी 3 वर्षको छोरा रहेको पाइन्छ । त्यसैगरी मृतक टिकाराम सुनारको श्रीमतीको उमेर 18 वर्ष र अन्दाजी 2 वर्षको छोरी,39 वर्षको बाबु र त्यो भन्दा कमै उमेरकी आमा रहेको हुँदा जाजरकोट र रुकुममा कम उमेरमा विवाह हुने प्रचलन रहेको पाइन्छ । मृतक नवराज बि.क. र निजको प्रेमीकाको पनि प्रेम सम्बन्ध कायम रहेको करिव 2 वर्ष भन्ने कुरा प्राय: सबैबाट सुन्नमा आएको पाइयो । तर स्थानीय रुपमा कम उमेरमा विवाह गर्ने चलन भएता पनि जातीय भेदभाव र छुवाछूतकै कारणले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिन्छ । उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति, गाउँका अगुवा व्यक्ति तथा आफन्तहरूले अलिकति पनि संयमता अपनाउन नसक्दा यस्तो जघन्य अपराध भई अपुरणीय क्षति हुन पुगेको छ ।

घटनाका पीडितहरू, मृतक टिकाराम सुनार बाहेक सबै जाजरकोटका हुनु, उनीहरू माथि साङ्गातिक आक्रमण गर्नेहरू सबै रुकुम पश्चिमका रहनु, हराएका व्यक्तिहरूको खोजीमा जाजरकोट तर्फका स्थानीय बासिन्दा र आफन्तहरूक्रियाशील रही सबै लाश जाजरकोट तर्फ आफन्तहरूले नै भेट्नु, रुकुम पश्चिम चौरजहारीतर्फका सुरक्षाकर्मीले घटनाको प्रकृति अनुरुप तत्काल आवश्यक कार्यवाही एवं पहल कदमी गर्न नसकेको पाइयो। यदि तत्कालै हराएका 6 जनाको खोजी कार्य गरेको भए प्राय: सबैलाई पानी बाहिरै एवं जीवितै सोही समयमा फेला पर्ने कुरामा धेरैको विश्वास रहेको पाइयो ।

घटनाको गम्भीरता समयमै बुझिएको भए तत्काल अपराध घटेको स्थानको सुरक्षा, वेपत्ता भएका व्यक्तिको खोजी, फेला परेका मृतकको लाशजाँच र पोष्टमार्टमका लागि उच्च प्रविधि एवं सतर्कता अपनाउन सकिन्थ्यो तर त्यस्तो भए गरेको पाइदैन । साथै सबै तहका राज्य संयन्त्रहरूले यो घटनालाई चासोका साथ लिई विशेष अनुसन्धान गर्नु पर्ने हुन्थ्यो। लाश प्रकृति मुचुल्का तयार गर्ने क्रममा लाश फेला पारी उद्धार गर्ने व्यक्तिहरूको भनाईलाई मुचुल्कामा समावेश नगरिएको देखियो । प्रहरी आफैले लाशको प्रकृति देख्दा देख्दै पनि लेख्न । छुटाएको पाइन्छ ।

तत्काल फेला परेको नवराज वि.क. को लाश पोष्टमार्टम अधिकारकर्मीहरूको विरोध र दबावका कारण समयमै हुन सकेन भने अन्य लाशहरू पनि ढिला फेला परेको र फेला परेपछि पनि पोष्टमार्टमा विलम्ब हुनुको साथै लाश राख्नका लागि विशेष प्रविधिको प्रयोग भएको पाइएन । मृतकका संवेदनशील अङ्गहरू टाउको, आँखा, नाक, मुख र शरीरका विभिन्न भागमा धारिलो हतियारका चोटहरू हुँदा हुदै लाश प्रकृति मुचुल्कामा उल्लेख गर्न छुटाइएको पाइयो । साथै पोष्टमार्टम गर्ने क्रममा मृतकका शरीरमा गम्भीर प्रकृतिका चोटपटक र लाश प्रकृति मुचुल्काका अतिरिक्त स्थानीयबासिको वयान अनुसार कानबाट रगत बगिरहेको, आँखा बाहिर निस्किएको, घाँटी भाचिएको, दात झरेको, उनीहरूको कपडामा प्रष्टै देखिने गरी रगतका टाटाहरू रहेको, टाउको अनुहार कपडाले बाधिएको जस्ता अवस्थालाई पोष्टमार्टम रिपोर्टका लागि खुलाउनु पर्ने विषय उल्लेख नगरिकन पोष्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय जाजरकोट पठाइएको । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा ल्याइएका लाशहरूको संख्या र प्रकृति अस्वभाविक देख्दा देख्दै पनि आफ्नो कार्यमा कुनै गम्भीरता असहज महशुस गरी थप विशेषज्ञ सेवाको माग गरेको देखिएन। एकातर्फ लाशमा देखिएका प्रशस्त चोटहरू उल्लेख गर्नु, थप परीक्षणका लागि भिसेरा जाँच गर्न पठाउनु र अर्का तर्फ मृत्युको कारण सिधै “cause of death: Drowning” उल्लेख गर्नुले पोष्टमार्टम रिपोर्ट प्रति पीडित पक्षहरू सशंकित भएको पाइयो ।

जाजरकोट र रुकुम पश्चिम जिल्लामा यति ठूलो घटना घटी हामी यति ठूलो पीडामा हुँदा पनि जिल्लाका जनप्रतिनिधि हामीलाई भेट्न, सहानुभूति दिन आउनुभएन भन्ने पीडित परिवारको गुनासो रहेको पाइयो ।

घटना घटेपछि 10 गते साँझ नै मृतक नवराज वि.क. को र क्रमश: 11 गते टिकाराम नेपालीको, 12 गते गणेश बुढा मगरको, 14 गते लोकेन्द्र सुनारको, 15 गते सञ्जििव वि.क. को र 20 गते गोविन्द शाहीको लाश भेटिई पोष्टमार्टमको लागि पठाइएको पाइन्छ । तर स्वास्थ्य सेवा कार्यालय जाजरकोटबाट 12 गते देखि 21 गते सम्म फरक फरक मितिमा गरिएका पोष्टमार्टमको रिपोर्ट तत्कालै सम्बन्धित निकायलाई नदिएर एकैपटक बुझाउनुपर्ने कुनै आधार कारण देखिएन । स्वास्थ्य सेवा कार्यालयको काम बुझेको लाशको पोष्टमार्टम गरी तत्कालै रिपोर्ट दिनु हो तर कार्यालयमा उपस्थित चिकित्सकहरू“सबै लाशको रिपोर्ट एकै दिन दिने भनी यतिका दिन राख्नुपरेको” बताउछन् ।  फरक फरक मितिमा भेटिएको र फरक फरक मितिमा पोष्टमार्टम गरिएको रिपोर्ट एकै पटक दिनु वा बुझाउनु कानून सम्मत् र व्यवहारिक देखिदैन ।

हाम्रो देशमा अन्तरजातीय विवाहको नाममा बिभिन्न कालखण्डमा बिभिन्नप्रकृतिका घटना नघटेका पनि होईनन् तर यस प्रकृतिको जघन्य सामूहिक हत्या हुनेगरी घटेको घटना भने पहिलो मान्न सकिन्छ।एउटा समूहमाथि आक्रमण गर्न गाउँ नै सहभागी भएको यो त्रासदिपूर्ण घटनाले हामी सबैलाई एकपटक सोच्न बाध्यबनाएको छ ।

घटनाको अध्ययन अनुगमन गर्ने क्रममा गरिएका सम्पूर्ण छलफल तथा सोधपुछ सम्बन्धी विषय, घटनाको तथ्यगत विवरण तथा विश्लेषण, निष्कर्ष र सिफारिसहरू समाबेश गरिएको छ । घटना जघन्य प्रकृतिबाट घट्न गई अपूरणीय मानवीय क्षति भएको छ । यस घटनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट विशेष महत्वकासाथ हेरिएको छ । समितिले यस प्रतिवेदनमा उल्लेख गरेका विषयहरू कार्यान्वयन तथा प्रतिवेदको निष्कर्ष तथा सिफारिसको तुलनात्मक अध्ययन गरी न्याय स्थापित गर्न समेत सहज होस् भनी त्यसभन्दा पहिला उल्लेखित घटनामा गरिएका जाजरकोट जिल्ला अस्पतालमा भएको पोष्टमार्टम रिपोर्ट, जिल्ला प्रहरी कार्यालय जाजरकोट र रुकुम पश्चिमबाट भएको घटनास्थल प्रकृति मुचुल्का, लाशजाँच मुचुल्का, प्रहरी प्रशासनबाट समितिलाई प्रस्तुत गरेकोकल डिटेल लगायतका विवरण यसै प्रतिवेदनको अनुसूचीमा समावेश गरिएको छ ।

2. निष्कर्ष

• रुकुम पश्चिम सोतीमा मिति 2077 जेठ 10 गते घटित यस दुःखदपूर्ण घटनाको कारणको मुख्य जरिया जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. 4 बस्ने बर्ष 21 को नवराज वि.क. र रुकुम पश्चिम जिल्ला चौरजहारी न.पा. वडा नं. 8 बस्ने बर्ष 17 कि सुष्मा मल्लबीचकोप्रेम सम्वन्ध अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरूले केटा कथित तल्लो जातको भएकोले अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछूतको कारणले भएको पाइयो ।

• यो घटना घट्नुपूर्व यसै विषयलाई लिएर केटी पक्षले यो प्रेम सम्बन्ध प्रति असन्तुष्टि जाहेर गरी मिति 2076 चैत्र 17 गते वडाध्यक्ष डम्बर बहादुर मल्ल मार्फत नवराज वि.क. लाई ईलाका प्रहरी कार्यालय चौरजहारीमा एक रात थुनामा समेत राखी भोलिपल्ट निजको आमालाई बोलाई जिम्मा लगाएको पाईयो ।

• 2077 जेठ 10 गते मृतक नवराज वि.क. र निजका साथीहरू केटी भएको गाउँ सोतीमा जाँदा यो घटना भएको पाईयो। नवराज वि.क. र निजका साथीहरू कसैले बोलाएर गएका हुन् वा आफै गएका हुन् भन्ने सम्बन्धमा विभिन्न पक्षका फरक फरक मत रहेको र अनुसन्धानको क्रममा प्रहरीले कल डिटेलको माध्यमबाट सो कुरा एकिन गरी नसकेको पाईयो ।

• जाजरकोट जिल्लाबाट लकडाउनको समयमा 18 जना युवाहरू रुकुम प्रवेश गरेको कुरा सुरक्षाकर्मीलाई थाहा भएन भन्न सकिने अवस्था देखिदैन। सुरक्षाकर्मीहरूले समयमै लकडाउन सम्बन्धी नियमको पालना कडाईको साथ लागू गर्न सकेको भए यो घटना घट्न नसक्ने देखिन्छ।
• उक्त घटनामा पीडक पक्षका प्रतिवादी रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ कावडाध्यक्ष डम्बरबहादुर मल्लजस्तो जिम्मेवार व्यक्तिको उपस्थितिमा यस्तो जघन्य अपराध भई अपुरणीय क्षति हुन पुगेको छ ।

• घटना घटित भैरहेको जानकारी सुरक्षाकर्मीलेप्राप्त गरेको तर घटनाको प्रकृतिप्रति सुरक्षाकर्मी गम्भीर नभएको देखिन्छ। रुकुम पश्चिम चौरजहारी ईलाका प्रहरी कार्यालयकाअसई सन्तोष लामिछाने र प्रहरी हबल्दार रमेश बस्नेत मोटरसाईकल लिई आएको अवस्थाबाटै प्रहरीले घटनाको गम्भीरता फेहरिस्त एकिन सूचना जानकारी नपाएको वा नलिएको अवस्था प्रष्ट देखिन्छ । प्रहरीहरू घटनास्थलमा पुगे पछि पनि त्यती चासो लिई घटनाको विस्तृत जानकारी लिएको भने देखिदैन ।

• सामान्य सोधपुछ पछि पीडित घाईतेहरूलाई लिई गएको र 2 जनालाई अस्पतालमा राखी बाँकी १० जनालाई ईलाका प्रहरी चौरजहारीमा लगी सोधपुछ गरेको। उक्त समयसम्म पनि घटनालाई गम्भीर रुपमा नलिएको र बेपत्ता भएका 6 जना युवाहरूको तत्काल खोजी कार्य नगरेको पाइयो । यदि तत्कालै सोधपुछ गरी खोजी कार्य गरेको भए सँगै गएका बाँकी 6 जनाहरू पनि सोही स्थानमा जीवितै फेला पर्न सक्ने देखिन्छ ।

• घटनास्थलबाट नियन्त्रणमा लिई 12 जना युवाहरूलाई ईलाका प्रहरी कार्यालय चौरजहारीमा पुर्यानए लगत्तै नवराज वि.क. को लाश फेला परेको देखिन्छ । यो कुरा प्रहरीलाई जानकारी भए पछि घाईतेहरूको वयान लिनुको सट्टा हराएका व्यक्तिहरूको खोजी कार्य गर्नुपर्ने कर्तव्य पुरा गरेको देखिदैन ।

• सबै मृतकहरूकोलाश जाजरकोट तर्फको भेरी नदीमा फेला परेको र घटनास्थलबाट नजिक दुरीमा रहेकोले पोष्टमार्टम (अटोस्पी)का लागिस्वास्थ्य सेवा कार्यालय, जाजरकोट पठाएको पाइयो । पोष्टमार्टमरिपोर्टमा उल्लेख भएको व्यहोराका विषयमा पीडीत पक्ष तथा सरोकारवालाहरूसशंकित भएर न्याय पाउने विषयमा चिन्तित हुनुका साथै आक्रोशित भई आन्दोलन गरिरहेको पाइयो ।

• मृतकहरूको लाश समयमा फेला नपरेको र फेला परेपछि पनि लाशजाँच प्रकृति मुचुल्का तयार गर्दा लाश फेला पारी निकाल्ने स्थानीय एवं पौडीबाजहरूको भनाई समावेश नगरिएको र लाशमा प्रष्ट देखिने गम्भीर प्रकृतिका चोटहरू समेत उल्लेख नगरेको पाइयो । लाश ढिलो फेला पर्नु र अस्पतालमा पुर्या्इए पछि पनि समयमै पोष्टमार्टम हुन नसकेको पाइयो। लाश बुझेपछि पोष्टमार्टम गर्दासम्मको समयमा शव राख्न अपनाउनुपर्ने प्रविधि प्रयोग नगरेको बुझियो।प्रतिवादीका तर्फबाट कानून व्यवसायी बनेका भक्त बहादुर मल्लका छोरा डाक्टर भूपेन्द्र मल्ल स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा कार्यरत रहनुले पोष्टमार्टम प्रति पीडित पक्षको आशंका रहेको पाइयो ।

• घटना हुनु पूर्व नवराज वि.क. र उनका साथीहरूबीच भएको टेलिफोन तथा प्रत्यक्ष वार्तालाप र प्रतिवादीले पाएको सूचना, घटना हुँदा प्रतिवादीहरू बीच भएको टेलिफोन संवाद एवं प्रत्यक्षदर्शी र सरोकारवालाहरूको भनाईका आधार, घटनामा उपस्थित भएका मानिसहरूको संख्या, घटनाको प्रकृति घटना पश्चात् तत्कालै देखिएको अवस्था आदिबाट यो घटना संगठित र योजनाबद्ध भएको बुझिन्छ ।

• घटनाको अनुसन्धान तहकिकात भै प्रचलित नेपाल कानून बमोजिम जिल्ला अदालत रुकुम पश्चिममा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव विरुद्धको मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेको पाईयो ।

• यस्तो जघन्य अपराधिक घटनामा सामान्य सूचनाका आधारमा उच्च तयारीका साथ तत्काल अनुसन्धान प्रारम्भ गर्नुपर्नेमा पीडित पक्षको संयुक्त जाहेरीपरे पछि मात्रै अपराध अनुसन्धानको प्रकृया थालेको पाइयो । अपराध भएपछि अपराध स्थलसुरक्षा, भौतिक प्रमाण बरामद, अनुसन्धान संयन्त्रको प्रयोग, प्रत्यक्षदर्शीको भनाई, मुद्दाको मुख्य आधार हुँदा हुदै पनि यी विषयमा गहन ढङ्गले अनुसन्धान गरेको पाइएन। पीडितको वयान र प्रत्यक्षदर्शीको भनाई सुनेपछि मात्र प्रतिवादीको बयान लिनुपर्नेमा प्रतिवादीको बयान पहिले लिइएको देखियो ।

• कोही पनि अपराधी नछुटून् र कोहि पनि निर्दोष नपरुन् भन्ने न्यायिक मान्यता अनुरुप पीडितलाई न्याय र क्षतिपूर्ति दिन, दोषीलाई प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्न र घाइतेहरूको यथोचित उपचार, सुरक्षार उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने साथैमृतकका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र यथोचित भरणपोषणको व्यवस्था राज्यबाट तत्कालै गर्नुपर्ने देखियो ।

• घटनासँग सम्बन्धित विषयलाई जोडेर जाति, भाषा, धर्म, संस्कृति भूगोल कुनैपनि पक्षबाट अतिरञ्जित नगरी सामाजिकसद्भा व, जातीय सहिष्णुता कायम गराउन सबै पक्षबाट प्रभावकारी भूमिका खेल्नु पर्ने देखिन्छ । यस घटनालाई प्रभावित गर्ने गरी वा सामाजिक सद्‍भावमा आँच पुग्ने गरी विभिन्न व्यक्तिहरूले बिभिन्न प्रसंगमा तथ्यहीन अतिरञ्जवनाहरू व्यक्त गरेको पाइएकोले त्यस्ता पक्षलाई नियमन गर्नुपर्ने देखियो ।

• विगत लामो समयदेखि नेपाली समाजमाविद्यमान जातीय तथा सामाजिक विभेदको अन्त्य गर्नको लागि भएका संवैधानिक तथा कानूनी प्रयासहरू, पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रियसन्धि महासन्धि एवं अनुवन्धहरू, संस्थागत संरचनाहरू, अवलम्वन गरिएका नीति, योजनाहरू, दिगो विकासका लक्ष्यहरू प्राप्ति र यिनीहरूको अवलम्बनका लागि अपनाइएका विधि प्रक्रियाहरू कार्यान्वयनको क्षेत्रमा प्रभावकारी भएको पाइएन । जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न र दोषीलाई दण्डित गर्न बनाइएका विद्यमान कानूनहरू हालको सन्दर्भमा अपूर्ण र अपर्याप्त भएको पाइयो ।

• संविधान, ऐन, कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक अभियानका कार्यहरू महत्वका साथ लागू गरी यस प्रकारका जातीय भेदभावमा आधारित सामाजिक द्वन्द्व अन्त्य गर्न शून्य सहनशीलताको नीति लिदै दिगो समस्या समाधानका लागि विशेष कार्यक्रमबनाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने पाइयो ।

• समाजमा रहेका विद्यमान परम्परा रीति तथा संस्कारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गर्ने, स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने, समानता एवं सह-अस्तित्वका आधारमा बिभिन्न जातजाति समुदायको रुपान्तरण गर्ने कार्यलाई तत्परताका साथ कार्यान्वयन गर्नुपर्ने पाइयो ।

• यस घटनाको सम्बन्धमा हुने न्याय सम्पादन, दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति, शान्ति सुरक्षा, सामाजिक सहिष्णुता प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेविषयहरूमहत्वपूर्ण रहेको पाईन्छ । हाम्रो शासन प्रणालीमा अझैपनि समावेशी एवं पहुँच र प्रतिनिधित्वको सुनिश्चितता नभएकोले राज्यका प्रत्येक संरचनामा सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने देखिन्छ । आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, धार्मिक,भाषिक समानता र सहिष्णुता कायम गराई उन्नत समाज निर्माणबाट समृद्ध राष्ट्र निर्माण गरिनुपर्ने विषय महत्वपूर्ण रहेको पाइयो ।

3. सिफारिस
घटनाको सम्बन्धमा अध्ययन, अनुगमन एवं छानविन गर्न स्थलगत अवलोकन तथा पीडित परिवार र घाईते युवाहरूलाई भेटी पीडा बुझ्ने, सरोकारवालासँग छलफल र अन्तरक्रिया गरी, राय बुझी तयार पारिएको घटनाको विश्लेषण र निष्कर्षका आधारमा निम्नानुसारको सिफारिस गरिएको छः
(क) घटना सम्बन्धमाः

1. रुकुम चौरजहारी सोती घटना घट्नुपूर्व, घटना घटेको समय र घटनापश्चात अपनाउनुपर्ने अपराध अनुसन्धानको विधि प्रक्रियामा अपर्याप्तता एवं त्रुटि देखिएकोले घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने ।

2. यो घटना गम्भीर मानवता विरुद्धको अपराध एवं सामूहिक हत्यासँग सम्बन्धित भएकोले राज्यको तर्फबाट विशेष अध्ययन, अनुसन्धान र निगरानी गर्नुपर्ने ।

3. घटनाबाट प्रभावित मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य,रोजगारी, सुरक्षा एवं भरणपोषणको पूर्ण प्रत्याभुति गरिनुपर्ने ।

4. घाईते युवाहरू यस घटना र मुद्दाका विशेष साँक्षी भएको हुनाले उनीहरूको स्वास्थ्य उपचार, सुरक्षा तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने ।

5. मृतकका परिवार आर्थिक, सामाजिक दृष्टिले अत्यन्तै कमजोर हुनुका साथै उनीहरूका कम उमेरका विधवा पत्नी र नाबालक सन्तान साथमा रहेकोले उनीहरूको भरणपोषण तथा जीविकोपार्जनका लागि तत्कालै विशेष व्यवस्था गरिनुपर्ने ।

6. घटनाको प्रारम्भिक अनुसन्धान गर्ने विषय जाजरकोट तथा रुकुम पश्चिम प्रहरी प्रशासनबाट कमजोर भएको, मृतक नवराज वि.क.को शव फेला परिसकेपछि पनि घटनास्थल शील गरी तत्काल छानविन गर्ने, घटनामा संलग्न ब्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाउने कार्य प्रहरी प्रशासनबाट भएको नदेखिएकोले आउँदा दिनहरूमा यस्तो प्रकृतिको घटना दोहोरिन नदिन न्याय सम्पादन र शान्ति सुरक्षाका विषयहरूलाई सक्षम बनाई जनताको जीउधन रक्षा गर्ने कार्यलाई राज्यले विशेष महत्व दिनुपर्ने ।

(ख) कानूनी व्यवस्था सम्बन्धमाः
1. राज्यको कानूनले मानवता विरुद्धको जघन्य अपराधको रुपमा परिभाषित गरेको भए तापनि फौजदारी न्याय प्रणालीमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी घटनाहरूमा घटनास्थलमा दसी, प्रमाण नहुने, नपाइने तर भाषा, सङ्केत, आशय, व्यवहार हुँदै झगडा एवं गम्भीर जघन्य कर्तब्य ज्यान, जान मार्ने उद्योग समेत हुनसक्ने भएकोले यस्तो प्रकृतिका घटनाहरूमा न्याय निरुपणका लागि सम्बन्धित निकायले घटना सम्बन्धमा सूचना प्राप्त गर्नासाथ प्रभावकारी ढङ्गले अनुसन्धान गर्नुपर्ने ।

2. नेपालमा विद्यमान जातीय तथा सामाजिक भेदभाव अन्त्य गर्न सङ्कल्प गर्दै संविधानको प्रस्तावना र मौलिक हक (धारा १८, २४, २९, ४०, ४२) को मर्म र भावना अनुसार प्रभावकारी कानून बनी नसकेकोले राज्यको कानूनले मानवता विरुद्धको जघन्य अपराधको रुपमा परिभाषित गरेको भए तापनि यस किसिमको भेदभाव अन्त्य गर्न बनेका विद्यमान ऐन, कानूनहरूमा दण्ड सजाय सम्बन्धी पुनरावलोकन गरी कानून निर्माण गर्नुपर्ने ।

3. राष्ट्रिय एकता, सामाजिक सद्भाोव एव नागरिकका बीचमा दिगो समानता स्थापित गर्न जातीय भेदभाव तथा छुवाछुतमा आधारित घटनालाई शून्य सहनशीलताका आधारमा कारवाही गर्ने नीति लिनुपर्ने ।

4. जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को संशोधन “जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०७५” मा उल्लिखित दण्ड सजाय अत्यन्तै न्यून भएको कारणले न्यायिक निरुपण प्रक्रिया प्रभावकारी हुन नसकेकोले यस प्रकृतिको अपराधमा रू. पाँच लाखदेखि दश लाखसम्म जरिवाना र पाँचदेखि दश वर्षसम्म सजाय हुनेगरी ऐन संशोधन गर्नुपर्ने ।

5. दलित समुदायको आर्थिक, सामाजिक अवस्था कमजोर रहेको र निरपेक्ष गरिबीको रेखामुनि परेका नागरिकहरूमध्ये झण्डै दुई तिहाई दलित समुदाय भएकोले कानूनी उपचारका लागि निःशुल्क कानूनी सहायताको व्यवस्था हुनुपर्ने ।

6. यस्ता घटना र मुद्दामा अधिकार प्राप्त अधिकारीले समयमा आफ्नो जिम्मेवारी पूरा नगरेमा, गर्न नचाहेमा वा ढिलासुस्ति गरेमा दण्डित गर्ने र यसबाट पीडितलाई हुने हानी, नोक्सानी बापत निजबाट क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था हुनुपर्ने ।

7. यस्ता प्रकारका घटनाहरू भविष्यमा घट्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान कानून प्रणालीमा आवश्यक सुधार गर्ने प्रयोजनका लागि थप आवश्यक अध्ययन गर्ने तर्फ राज्यले अविलम्ब पहल गर्नुपर्ने ।

(ग) संरचना निर्माण, सुधार एवं सबलीकरणः
1. राष्ट्रिय दलित आयोग गठन आदेश मार्फत २०५८ मा स्थापना भई कानूनी हैसियत प्राप्त गर्दै २०७२ को संविधानमा संवैधानिक मान्यता प्राप्त गरे तापनि त्यसको गठनमा हालसम्म राज्यको ध्यान नपुगेकोले अविलम्ब संरचनागत सुधार एवं सबलीकरण गर्दै आयोगका पदाधिकारीहरू नियुक्त गर्नुपर्ने ।

2. दलित समुदायको आर्थिक, सामाजिक रुपान्तरण गर्दै सर्वाङ्गीर्ण उत्थान र विकास गर्नका लागि २०५४ मा गठन भएको “उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति” र “वादी विकास बोर्ड, २०६८” हाल निस्क्रियप्रायः बनाइएकोले यी निकायहरू मार्फत हुँदैआएका समुदायको विकास लगायत विभिन्न कार्यक्रमहरू हाल शून्य अवस्थामा छन् । यी निकायहरूलाई तत्कालै क्रियाशील बनाई कार्यक्रममा निरन्तरता दिनुपर्ने ।

3. मन्त्रिपरिषद्‍ अन्तर्गत “राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र” र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी प्रमुख रहने गरी संरचना रहेको भए तापनि प्रभावकारी हुन नसकी परिणाम दिन नसकेको हुनाले थप क्रियाशील एवं व्यवस्थित गर्दै प्रत्येक जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दाको सुनुवाई गर्न छुट्टै डेस्कको व्यवस्था गर्नुपर्ने ।

(घ) सबै किसिमका भेदभाव अन्त्य गर्नको लागि सामाजिक जागरण सम्बन्धी कार्यक्रमः
1. सदियौँदेखि धर्म, परम्परा र संस्कृतिका नाममा समाजमा विद्यमान रहेको जातीय भेदभाव तथा छुवाछूत हटाउने राज्यको उद्देश्य हुँदाहुँदै पनि परिणाम देखिन नसकेको हुनाले हाम्रो शिक्षा प्रणालीमा आमूल सुधार गर्न माध्यमिक तहको पाठ्यक्रममा जातीय भेदभाव तथा छुवाछूत दण्डनीय अपराध रहेको व्यवस्था समावेश गर्ने ।

2. प्रत्येक नागरिकको समानता, स्वतन्त्रता, सहअस्तित्व र सामाजिक न्यायको हक प्रत्याभूत गर्नको लागि सबै प्रकारका विभेद प्रकट हुने, भेदभाव हुने, अपमान हुने, होच्याएको अनुभूति हुने आदि कार्यहरू दण्डनीय अपराध हुन् भन्ने कुरा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नुपर्ने ।

3. सामाजिक सद्भा्वमा आँच पुर्याडउने वा जातीय भेदभाव झल्किने गरी अभिव्यक्ति दिने, लेख रचना प्रकाशन गर्ने वा सामाजिक सञ्जालमा प्रस्तुत हुने जोकोहीलाई प्रचलित कानून बमोजिम शून्य सहनशीलताका आधारमा तत्काल कारवाही गर्नुपर्ने ।

4. विद्यमान विभेदका विभिन्न कारणहरूमध्ये दलित समुदायको कमजोर आर्थिक, सामाजिक अवस्था पनि भएकोले उनीहरूको आर्थिक, सामाजिक सशक्तिकरणका लागि संविधानको धारा ४० बमोजिम बनाउनुपर्ने कानून बनाई सो अनुसार एकीकृत कार्यक्रम, कार्ययोजना र पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने ।

5. सबै तहका सरकारले सबै किसिमका भेदभाव अन्त्य गर्न सामाजिक रुपान्तरणका लागि जागरण, सचेतना तथा सशक्तिकरणकाठोस योजना तथा कार्यक्रम बनाईप्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने ।

6. उक्त घटनामा मारिएका 6 जना मृतकको स्मारक र घाइतेको नामावली सहित सामाजिक एकता र जातीय सद्भााव झल्किने गरी भेरी नदीको आसपासमा राष्ट्रियस्तरको“सद्भाेव स्मृति पार्क” निर्माण गर्नुपर्ने ।

(ङ) समावेशीकरणः
1. सबै किसिमका विभेदको अन्त्यको आधार राज्यका सबै निकायहरूमा समानुपातिक समावेशिता हो भन्ने मूल सिद्धान्तलाई हाम्रो संविधानमा उल्लेख गरी लागू गरिसकेको अवस्थामा सो बमोजिम हालसम्म प्रभावकारी कानून बनाउनुपर्नेमा त्यसको ठीक विपरीत विगतमा भइरहेका अवसर र सुविधाहरू समेत कटौति हुँदै गएको वास्तविकतालाई पुनर्विचार गरी समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने ऐन, कानून एवं नीति निर्माण गर्नुपर्ने ।

2. राज्यका निजामती, प्रहरी, सेना, संस्थान, आयोग, प्राधिकरण, नियोग लगायत सबै सार्वजनिक सेवा रसङ्गठित संघ, संस्थान, प्रतिष्ठानलगायतमा समानुपातिक समावेशीकरणको सुनिश्चितता हुनेगरी कानून निर्माण गर्नुपर्ने ।

फेसबुक प्रतिक्रियाहरु