बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • कास्की, नवलपरासी र लम्जुङमा खतराको तहसम्म पुग्यो बाढी
समाचार

कास्की, नवलपरासी र लम्जुङमा खतराको तहसम्म पुग्यो बाढी

२६ असार,

काठमाडौं । कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ । अर्को ६ घण्टा पनि धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले प्रदेश १, २, ५ र गण्डकी प्रदेश भइ बहने नदीहरुमा पानीको बहाव खतराको संकेतसम्म पुग्ने महाशाखाले जनाएको छ ।

यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

रिउखोलामा जलसतह सतर्कतासम्म पुग्न सक्ने भएकाले माडी नगरपालिकाको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म सतर्कता अपनाउन  बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित पानी पर्ने जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविदहरुले २९ असारसम्म भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु