शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अंगिरा पासी मृत्यु प्रकरण : तीन मुख्य आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
समाचार

अंगिरा पासी मृत्यु प्रकरण : तीन मुख्य आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

तिलोत्तमा — रुपन्देहीको देवदह ११, बड्कीगुम्मी गाउँकी १३ वर्षीया बालिका अंगिरा पासीको बलात्कार र मृत्यु प्रकरणमा जिल्ला अदालत रुपन्देहीले मुख्य आरोपित वीरेन्द्र भर, उनकी आमा अकाली देवी र ठुलीआमा शितली भरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको एकल इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अंगिराको मुद्दामा सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता डम्बरप्रसाद काफ्लेसहित सहन्याधिवक्ता विष्णुप्रसाद भट्टराई, डिल्लीराज ज्ञवाली, बिमल पन्थी, कमल कोइरालाले बहस गरेका थिए । त्यस्तै जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकचन्द विश्वास, श्यामकुमार विश्वकर्मा, सुन्दरबहादुर सेन र शैलेन्द्र हरिजन, सुर्यराज अधिकारी, लोकनाथ पन्थ, गिरीजाबहादुर सुनार, मनोज श्रेष्ठ, युवकराज रेग्मी, पदमबहादुर कार्की, ईन्दु अर्यालले थुनछेक बहसमा भाग लिएका थिए । प्रतिवादीका तर्फबाट राममणि भुर्तेल र कुलानन्द ज्ञवालीले बहस गरेको अदालतका सूचना अधिकारी गंगा अधिकारीले बताए ।

प्रहरी नियन्त्रणमा रहेका आरोपितको पहिलोपटक ७ दिन, क्रमैसँग १० र ८ दिन म्याद थपेपछि गत आइतबार प्रहरीले जिल्ला अदालतमा अभियोगपत्र पेश गरेको थियो ।

वडाअध्यक्षको समेत उपस्थितिमा वीरेन्द्र भरको जिम्मा लगाइएकी अंगिरा त्यसै दिन खोला किनारको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । वीरेन्द्रले उनको बलत्कार गरेको र पछि बिहे नै गर्नुपर्ने भएपछि परिवारको मिलेमतोमा हत्या गरिएको अंगिराको परिवारले आरोप लगाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु