शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ओमानबाट १६६ जना स्वदेश फिर्ता, थप ८ देशबाट ल्याइँदै
समाचार

ओमानबाट १६६ जना स्वदेश फिर्ता, थप ८ देशबाट ल्याइँदै

काठमाडौँ — ओमानमा करार अवधि समाप्त र रोजगारविहीन भएका एक सय ६६ जना नेपाली आइतबार काठमाडौं आइपुगेका छन् । सरकारले चार्टर विमानका लागि तोकेको भन्दा झन्डै १० हजार रुपैयाँ कम भाडामा उनीहरू सलाम एयरको उडान नम्बर ओभी ४२७ मार्फत दिउँसो २ बजे काठमाडौंमा आइपुगेका हुन् ।

मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदार ल्याउन सलामले पहिलो उडान गरेको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले पीसीआर परीक्षण गरी उनीहरूलाई पठाएको जानकारी दिइन् । रोजगारदाता र कामदार आफैंले टिकट खर्च व्यहोरेका छन् । दूतावासको सेल्टरमा रहेका १३ जना महिलाको टिकट खर्च भने दूतावासले नै प्रबन्ध गरेको ढकालले बताइन् ।

सरकारले मस्कटबाट चार्टर गर्दा नेपाल एयरलाइन्सका लागि ३ सय ६६ डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि झन्डै ४८ हजार भाडादर कायम गरेको छ । दूतावासले त्योभन्दा कम ३६ हजार रुपैयाँमा सलाम एयरबाट कामदार पठाएको हो । अर्को उडान असार ४ गते बिहीबार निर्धारण गरिएको छ । ओमानबाट ६ सय नेपाली घर फिर्न चाहेका छन् ।

थप ८ देशबाट ल्याइँदै

लकडाउनका कारण ८ वटा देशमा अलपत्र परेका नेपाली नागरिकलाई हिमालय एयरलायन्सले मंगलबारदेखि काठमाडौं ल्याउने भएको छ । हिमालयको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीका अनुसार, पहिलो चरणमा मंगलबार श्रीलंकाको राजधानी कोलम्बो र माल्दिभ्सको राजधानी मालेबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार ठूला जेट विमान उडाउँदै आएका नेपालका दुइटा वायुसेवा कम्पनीलाई २० वटा मुलुकबाट नेपाली नागरिकलाई असार ११ सम्म चार्टर उडानबाट ल्याउन अनुमति दिएको थियो । मन्त्रालयको उक्त निर्णयअनुसार, नेपाल वायुसेवा निगमले आइतबार पहिलो उडान बंगलादेशबाट गरिसकेको छ । हिमालयले सोमबारबाट गर्नुपर्ने थियो । तर, कम्पनीभित्र र बाहिरी मुलुकका दूतावासलगायतसँग व्यवस्थापन गर्दा ढिलाइ भएकाले मंगलबारदेखि चार्टर उडान गर्ने ब्रान्ड प्रमुख दलीले जानकारी दिइन् ।

एयरबस कम्पनीका चारवटा न्यारोबडी विमान भएको हिमालयको मंगलबार काठमाडौंबाट हुने पहिलो चार्टर उडान कोलम्बो, माले हुँदै स्वदेश फर्किने छ । यी दुई मुलुकबाट १ सय ५८ नेपाली फर्किने छन् ।

बुधबार बंगलादेशको ढाका, सिंगापुर, कम्बोडियाबाट नेपालीलाई ल्याइने छ । बिहीबार मलेसिया र साउदी अरबियाको दमामका लागि दुइटा उडान हुनेछन् । शुक्रबार दमाम र माले र शनिबार यूएईको आबुधाबी र बंगलादेशको ढाकाका लागि चार्टर उडान हुनेछन् ।

पहिलो चरणमा हिमालयले नौवटा चार्टर उडान गर्ने जनाएको छ । तिब्बत एयरलायन्सको र नेपाली कम्पनी यति एयरसँगको साझेदारीमा ०७१ सालदेखि सञ्चालनमा आएको हिमालयले दोस्रो चरणको उडान तालिका र भाडा पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु