मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बासुरीमा प्रधानमन्त्री ओली, सारंगीमा खनाल र नेपाल!
Uncategorized

बासुरीमा प्रधानमन्त्री ओली, सारंगीमा खनाल र नेपाल!

२१ माघ, काठमाडौँ , मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारको माहौल भिन्न रह्यो।
पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाए।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली पिटेर साथ दिए।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बालुवाटारमा प्रधानमन्त्रीले बासुरी धुन बजाएर सुनाएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीलाई दिएको जानकारीअनुसार मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलेको हो।
उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीले सचिवालय सदस्यलाई परिवार (जोडी) सहित आउन निम्ता दिएका थिए।
सचिवालय सदस्यहरू र २५ जना सम्पादक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो,’ थापाले भने,  ‘नेपालका सबै मौलिक बाजा र धुन प्रस्तुत गरिएको हो।’
प्रधानमन्त्रीले नै बासुरी बजाउने माहौल कसरी सिर्जना भयो त? यो प्रश्नमा थापाले भने, ‘कार्यक्रम सञ्चालक दिनेश डिसीले प्रधानमन्त्रीज्यूलाई मञ्चमा बोलाउनुभयो। मञ्च पुगेर प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीज्यूहरूलाई पनि सँगै बाजा बजाऔं भन्ने प्रस्ताव राखेपछि उहाँहरू पनि मञ्चमा आउनुभयो। त्यसपछि बासुरी र सारंगीका सुमधुर धुनले माहौल संगीतमय भयो।’
प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा सारंगी र बासुरी सजाएर राखिएको छ। त्यहाँ पुगेका जो-कोहीले सारंगी र बासुरी देख्छन्। कार्यक्रम सञ्चालक डिसीले पनि बालकोटको घरमा झुण्डिएको सारंगी र बासुरीकै प्रसंग निकालेर प्रधानमन्त्री ओलीलाई मञ्चसम्म पुर्‍याएका हुन्।
‘उहाँहरूले सिर्जनशील धुन प्रस्तुत गर्नुभयो,’ थापाले भने।
प्रधानमन्त्री ओलीले माघ १९ गते साँझ पनि बालुवाटारमा केन्द्रीय सदस्य र सांसदलाई भोज खुवाएका थिए। त्यो कार्यक्रम पनि संगीतमय बनेको थियो।
मंगलबारको कार्यक्रममा भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएनन्। उनी कार्यक्रमको सिलसिलामा पोखरामा छन्।

फेसबुक प्रतिक्रियाहरु