जुनेली न्यूज, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार झडप भएको छ। झडपमा दुई समूहका गरी १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्न भेलाको तयारी भएको थियो ।विद्यालयका प्रधानाध्यापक राजेश यादव र पूर्वअध्यक्ष देवनारायणका नाति पारस भण्डारीको समूहले आफ्नो पक्षको अध्यक्ष हुनु पर्ने र माधवनारायण-४ का वडाअध्यक्ष रामदेनी मुखियाले पनि आफ्नो समूहबाट अध्यक्षको तयारी गरेपछि दुई समूह बीच झडप भएको हो ।
विद्यालयको अध्यक्ष बन्न विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान रहेकोले वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया आइतबार बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए । विद्यार्थी भर्नाको सम्बन्धमा कुरा नमिलेपछि विवाद शुरु भएको बताइएको छ ।
बाँसका भाटासहित दुई पक्ष झडपमा उत्रिएपछि १३ जना घाइते भएका हुन् । घटनामा संलग्न दुवै पक्षका एक/एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी शिद्धिविक्रम शाहले बताए । “विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुपर्ने निहुँमा झडप भएको हो । घटनामा संलग्न रामकलेवर मुखिया र दिलीप कुमार भण्डारीलाई नियन्त्रण लिएका छौं” एसपी शाहले भने, “घटनाका विषयमा कुनै पक्षबाट जाहेरी आएको छैन । थप संलग्नहरुको खोजी भैरहेको एसपी शाहले बताएका छन्
फेसबुक प्रतिक्रियाहरु