शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • गुल्मीका कोरोना संक्रमितको शव जंगलमा गाडियो
समाचार

गुल्मीका कोरोना संक्रमितको शव जंगलमा गाडियो

९ जेठ,

बुटवल । रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ ।

नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शब निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो ।

मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो ।

पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।

महामारीको समयमा शव व्यवस्थापन गर्न नदिंदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको मृतकका भाइ मीनबहादुर कुँवरले बताए । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेको हुँदा छानबिन गर्नुपर्ने लगायतका माग यथावत रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु