शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ६ लाख डलर नगद र सुन घुस लिएको भन्दै आङ सान सुकीलाई पाँच वर्ष जेल
दुर्घटना/अपराध

६ लाख डलर नगद र सुन घुस लिएको भन्दै आङ सान सुकीलाई पाँच वर्ष जेल

जुनेली न्युज,१४बैशाख  |

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई  भ्रष्टाचार मुद्दामा एक  अदालतले पाँच वर्षको  जेल सजाय सुनाएको छ |

द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई  ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुस लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो |

यसअघि पनि  उनलाई  गैरकानुनी रूपमा वाकीटकी राखेको भन्दै चार वर्ष जेल सजाय सुनाइएको थियो |

त्यसअघि सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो |

२०२१को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ |

 

सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो | चुनावमा  धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो | आफूले निष्पक्ष चुनाव गराउने सेनाको भनाइ थियो |

सेनाले कू गरेपछि नागरिले सैनिक शासनको प्रतिरोध गरिरहेका छन् | प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म कम्तीमा १८ सय भन्दा बढी  मानिस मारिएका छन् |

फेसबुक प्रतिक्रियाहरु