बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भोलि मेलम्चीको पानी फेरि काठमाडौं पठाइने, प्रधानमन्त्रीले उद्घाटन गर्ने
विकास निर्माण

भोलि मेलम्चीको पानी फेरि काठमाडौं पठाइने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

जुनेली न्युज,२८ चैत काठमाडौँ |

 

मेलम्ची खानेपानी आयोजना दोस्रो पटक उद्घाटन हुने भएको छ| चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ काम गरिरहेको खानेपानी मन्त्रालयले मंगलबार फेरि उद्घाटन गर्न लागेको हो |

मंगलबार अम्बाथान अडिटमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्न लागेका हुन् |

मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने कार्य  सकिएको छ | अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना रहेको थियो |

 

२०७८ साल  असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो | मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए |

“सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न एक-दुई दिन लाग्ला,” आचार्यले भने |

आयोजनाले कफरड्याम पनि अस्थायी नै बनाएको छ | चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार थियो |

गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो | बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो |

गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो | वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो |

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो | त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो |

मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ | त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ |

फेसबुक प्रतिक्रियाहरु