शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेबिसंघद्वारा किशुनजीको सम्झनामा दीप प्रज्वलन
समाचार

नेबिसंघद्वारा किशुनजीको सम्झनामा दीप प्रज्वलन

२० फागुन,

काठमाडौ । नेपाल विद्यार्थी संघ एन्सिआइटी क्याम्पसले काङ्ग्रेस नेता कृष्ण प्रसाद भट्टराईको १० औं स्मृति दिवसको अवसर पारेर श्रद्धाञ्जली सभा गरेको छ ।

रत्नपार्क स्थित शान्ति बाटिकामा नेबिसंघले सभा आयोजना गरेको हो । उक्त सभामा कृष्ण प्रसाद भट्टराईलाई सम्झदै उनीहरुले दीप प्रज्वलन समेत गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेबिसंघ पुर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले राजनीतिमा विकृति बढ्दै गएकाले आज कृष्ण प्रसाद भट्टराईलाई सम्झन आवश्यक रहेको बताए । ‘अहिले राजनीतिक विकृति बढ्दै गएको अवस्थामा निष्ठाबाट गाईडेड नेता कृष्ण प्रसाद भट्टराईलाई सम्झन झनै आवश्यक छ’ , उनले भने ।

भट्टराईको सन्तान नभएको प्रसङ्ग निकाल्दै त्रीपाठीले थप भने, ‘किशुनजीको आफ्नै सन्तान त नहोलान्, तर हामी जस्ता हजारौं जनता उनका सन्तान हौँ । हामी उनको विचारलाई मर्न दिन्नौँ ।’

त्यस्तै पुर्व केन्द्रीय सदस्य प्रेमिका राना मगरले भनिन् ‘किशुनजी जस्तो सन्त नेता अहिले भेटिन मुस्किल छ, सबै कमाउने ध्याउन्नमा मात्र लागेको अवस्थामा किशुनजी जत्तिको सन्त नेतालाई हामीले बिर्सनु हुँदैन ।’

यस कार्यक्रमका संयोजक तथा नेविसंघ एनसिआईटीका वरिष्ठ उपाध्यक्ष प्रशान्त थापाले सरकार र प्रशासन भन्दा व्यापारी हावी भएका वर्तमान समयमा नेतागणले किशुनजीलाई सम्झेर सम्पुर्ण लोभ लालच त्यागी देशलाई मार्गनिर्देशन गर्ने सच्चा नेता बन्न आव्हान गर्नुभयो। ‘किशुनजीलाई सम्झेर अब सबै नेतागणले आफ्नो लोभलालच त्याग्नुपर्छ’ , उनले भने ।

विद्यार्थी नेता करुना सागर सिग्देल आज कृष्ण प्रसाद भट्टराईलाई बिर्सनेले भोलि देशलाई पनि बिर्सने बताउँछन् । उनी भन्छन् , ‘ ‘किशुनजीको त्यागलाई बिर्सनु भनेको देशलाई नै बिर्सनु जस्तै हो, उनको त्याग र निष्ठालाई बिर्सनेले देशलाई पनि सम्झन सक्दैन ।’

कार्यक्रममा उपस्थित सबैले दियो बालेर नेपाली काङ्ग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई सम्झिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु